Tuesday, January 12, 2016

सल्लेरी च्याल्सा बिद्युतको नाफा ६९ लाख

२८ पौष –

सल्लेरी च्याल्सा विद्युत कम्पनी लिमिटेडले आर्थिक बर्ष २०७१–७२ मा ६९ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो अर्थात आर्थिक बर्ष २०७०–७१ मा भन्दा १०४.७७ प्रतिशतले गत आर्थिक बर्षमा नाफा बृद्धि भएको कम्पनिले जनाएको छ ।
आज सोलुखुम्बुको सल्लेरीमा आयोजित २३ औ वार्षिक साधारण सभामा आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै कम्पनीका अध्यक्ष आङदामी शेर्पाले कुल आम्दानी भने वर्ष २ करोड ४५ लाख ५२ हजार ५ सय ७४ रुपैयाँ रहेको जानकारी दिए । आम्दानीमा पनि आर्थिक बर्ष २०७०–७१मा भन्दा ४२.१४ प्रतिशतले बृद्धी भएको जनाइएको छ ।
गत आर्थिक बर्ष मै ३ सय ६० किलोवाट क्षमताको नयाँ बिद्युत जडान गरेको च्याल्साले १ करोड ५६ लाख ८४ हजार ६ सय २ रुपैयाँ कुल खर्च रहेको जनाएको छ । जुन खर्च अघिल्लो आर्थिक बर्षको तुलनामा ३३.४७ प्रतिशतले बढि हो । कम्पनिको सबै प्राबिधिक, प्रशासनिक तथा ब्यबस्थापन खर्च आफैले गरेको जनाइएको छ । सो क्रममा कम्पनिमा कार्यरत कर्मचारीहरुलाइ ४ लाख ७८ हजार रुपैयाँ बोनस बितरण गर्ने अध्यक्ष शेर्पाले जानकारी दिए । यता कम्पनीका सेयर धनीहरुले भने बर्षेनी कम्पनि नाफामा गए पनि लाभांश भने नपाएको गुनासो गरेका छन् ।
सदरमुकाम सल्लेरी नजिकै रहेको ६ सय ३ किलोवाट क्षमता भएको उक्त बिद्युत कम्पनिले सल्लेरी सहित १ हजार ६ सय ४० घर परिवारमा सेवा दिदै आएको छ । राजधानी सहित देशका बिभिन्न स्थानमा दैनिक १५ घण्टा बिद्युत कटौती भइरहेका बेला हिमाली जिल्ला सोलुखुम्बुमा भने दैनिक ३ घण्टा रहेको छ ।

Friday, January 8, 2016

अवैध साढे ९ किलो सुनसहित सुन पसले नै पक्राउ

२४ पुस । नेपालमा सुन पसल चलाइरहेका दुई भारतीय नागरिक साढे ९ किलो अवैध सुनसहित पक्राउ परेका छन् ।
gold-silver-600X300महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले विक्रम मित्तल र विवेक मित्तललाई पक्राउ गरेको हो । मित्तल दाजुभाइ न्यूरोडस्थित भाग्यलक्ष्मी ज्वेजर्सका सञ्चालक समेत हुन् ।
भारतकै राजस्थानका भागिरथ चौधरीलाई एक किलो अवैध सुनसहित पक्राउ परेका छन् ।
मित्तल दाजुभाइ संगठित रुपमा नै सुन तस्करीमा संलग्न भएको प्रहरीको दाबी छ । यो धन्दामा मामा भन्ने चिनियाँ नागरिक पनि संलग्न रहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले बताए ।
उनीहरुले चीनबाट सुन ल्याउने गरेको खुलेको छ । बरामद भएको सुन तातोपानी नाका हुँदै काठमाडौं आएको र मित्तल दाजुभाइले भरिया नै खटाएर सुन तस्करी गरेको प्रहरीले बताएको छ ।
महानगरीय अपराध महाशाखाले पक्राउ परेका तीनै जनालाई संगठित अपराधको मुद्दामा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौ पठाएको छ ।
महाशाखाको टोलीले सुन चोरी र चोरीका सुनको किनबेचमा संलग्न अन्य पाँच जनालाई पनि साँढे आठ तोला सुन तथा ३५ तोला चाँदीका गरगहनासहित सार्वजनिक गरेको छ ।

Wednesday, January 6, 2016

हावाबाट बिजुली निकालेर गाउँ नै झलमल !

मकवानपुर, पुस २२ । हावाबाट बिजुली निस्कन्छ भनेको सुन्दा मकवानपुर फापरबारी गाविस–२ भोर्लेनीका चतुरबहादुर घलानलाई पटक्कै विश्वास थिएन ।

पानी र घामबाट त बिजुली निस्कन्छ भन्ने देखेका उनलाई साँझ परेपछि र बिहान ९/१० बजेसम्म घर नै उडाउलाजस्तो गरी बहने हावाबाट बिजुली निस्केर गाउँ नै झलमल भएको देख्दा अहिले सपनाजस्तै लाग्दछ ।

योसबै सम्भव बनाएको छ, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय निकाय र समुदायको सामूहिक प्रयासमा भोर्लेनीमा निर्माण गरिएको वायु र सौर्यशक्तिबाट सन्चालित २५ किलोवाट क्षमताको सो वायु–सौर्य ऊर्जा मिश्रित परियोजनाले ।

चतुरबहादुर मात्र होइन, हेटौंडाबाट पूर्वमा सवारी–साधनमा करिब चार घन्टाको यात्रापछि मात्र पुगिने दुर्गम भोर्लेनीका १३१ तामाङ, बाहुन, क्षेत्री, दलितलगायतका घरपरिवार हावा र सौर्य शक्तिबाट उत्पादन भएको बिजुली उपयोग गरेर उज्यालोमा बस्न पाउँदा खुसी मात्र भएका छैनन्, आफूलाई भाग्यमानी पनि सम्झन्छन् ।

‘सहरमा बरु दिनमा १५ घन्टा बिजुली आउँदैन, अन्धकारमा बस्नु पर्छ रे भन्ने सुनेको छु, तर हामी गाउँलेले भने २४ सै घन्टा विद्युत् उपयोग गर्न पाएका छौं’–स्थानीयवासी प्रेमबहादुर लोप्चन भन्छन् ।

काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमामा पर्ने मकवानपुर जिल्लाको यस विकट ठाउँमा पहिले पहिले मानिसहरु बस्न रुचाउँदैनथे ।

बागमती नदीको किनारमा रहेको यो ठाउँ बालुवा र ढुंगाको गेग्रानले ढाकिएकाले उब्जनी नहुने र औलोको भयले गर्दा मिल्किएको यो ठाउँ अहिले सिँचाइ सुविधा, सडक यातायातको पहुँच र विद्युतीकरणले स्थानीयवासीको जीवनशैली फेरिएको मात्र होइन, यस ठाउँको परिचय नै बदलिएको छ ।

अहिले यहाँ चार बाली खेती हुन थालेको, विद्युत् सुविधाले सूचना, सन्चारको पहुँचको विस्तारले गाउँलेको आर्थिक–सामाजिक तथा चेतनास्तरमा अभिवृद्धि भएको छ ।

पहिले वनमारा र दाउराका झिँजा बालेर गुजारा गरेको स्मरण गर्दै ९७ वर्षीय दलवीर आले भन्छन्–‘बाँचिरहनुपर्ने रहेछ, आँखाले अनेक देख्न पाइने रहेछ ।’ जीवनमा कहिल्यै बिजुली नदेखेका उनी अहिले घरमै बिजुली प्रयोग गर्न पाउँदा अचम्भित भएको र यसले आफूलाई बाँच्ने रहर बढाएको बताउँछन् ।

स्थानीय गीता निमाविका शिक्षक जगतबहादुर थोकर पनि गाउँमा विद्युत् सुविधा भएपछि गाउँका केटाकेटी विद्यालय आउनेक्रम बढेको र उनीहरुको शैक्षिकस्तरमा सुधार आएको बताउँछन् ।

आफूले २०३६ सालमा हेटौंडा जाँदा सडकमा बत्ती बलेको देख्दा त्यो उज्यालोमा बसेर पढ्न पाए हुन्थ्यो भन्ने चाहना भएको बताउँदै भन्छन्–‘उतिबेला गाउँमा बिजुली थिएन, आगो बालेर र जुनको उज्यालोमा बढ्नुपर्ने बाध्यता थियो ।’

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय निकाय र समुदायको सामूहिक प्रयासमा भोर्लेनीमा वायु र सौर्यशक्तिबाट २५ किलोवाट क्षमताको सो वायु–सौर्य ऊर्जा मिश्रित परियोजना निर्माण गरिएको हो ।

केन्द्रले रु ८९ लाख, जिविसले रु पाँच लाख र गाविसले रु दुई लाख तथा समुदायबाट रु ३० लाख बराबरको नगद र श्रमदान गरी कूल रु एक करोड २५ लाखको लागतमा सो परियोजना सम्पन्न भएको छ ।

गत जेठ १५ गतेदेखि विद्युत् उत्पादन सुरु भएपनि मंगलबार जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले औपचारिकरुपमा उद्घाटन गरेका हुन् ।

सो अवसरमा मन्त्री पासवानले मुलुकले ऊर्जा संकटको समस्या झेलिरहेको बेला स्थानीयस्तरमा उपलब्ध ऊर्जाका स्रोतको उपयोग गरी जनतालाई ऊर्जामा आत्मनिर्भर गराउन यस्ता वैकल्पिक ऊर्जा प्रविधिको विकास र विस्तारमा लाग्नुपर्ने खाँचो औंल्याए ।

उनले अँध्यारोबाट उज्यालोतर्फ लैजान सकिएमात्रै नयाँ र समृद्ध नेपाल निर्माण गर्न सकिने भएकाले वर्तमान सरकारले थोपाथोपा इन्धनको बचत र वैकल्पिक ऊर्जाको प्रवद्र्धनलाई उच्च प्राथमिकता दिएको उल्लेख गरे ।

पाँच किलोवाट क्षमताका दुईओटा पंखाबाट १० किलोवाट र १५ किलोवाटको सौर्य ऊर्जाको मिश्रित प्रणालीबाट उत्पादित विद्युत् यहँँका १३१ घरपरिवारमा वितरण गरिएको छ ।

हाल बत्ती बाल्नका लागिमात्र उपयोग गरिएकोमा अब सौर्य प्रणालीलाई पनि जोडेपछि गाउँलेहरुले अन्य विद्युतीय उपकरण सन्चालन गर्नसक्ने केन्द्रका प्राविधिक अधिकृत प्रकाश अर्याल बताउँछन् ।

परियोजनाबाट उत्पादित विद्युत्लाई १७ हजार एम्पिएर आवरको ब्याट्रीमा संकलन गरी ३० केभीको ट्रान्सफर्मरमार्फत थ्री–फेजको लाइनबाट घरघरमा वितरण गरिएको छ ।

देशका अधिकांश डाँडामामात्र नभएर गहिरा खोँचमा पनि प्रशस्त हावा चल्ने स्थानहरु रहेकाले वायु ऊर्जाको सम्भावना रहेको बताउँदै अर्याल भन्छन्–‘केन्द्रीय प्रसारण पुर्‍याउन नसकिने दुर्गम स्थानमा यस्ता प्रविधिको विस्तार गरी ऊर्जाको पहुँच पुर्‍याउन सकिन्छ ।’

वायु र सौर्य ऊर्जाको सम्मिश्रण गरी विद्युत् उत्पादन गरिएको यो देशको दोस्रो परियोजना भएपनि सरकार र समुदायको लगानीमा निर्माण गरिएको भने पहिलो ठूलो योजना हो ।

यसअघि, नवलपरासीको धौवाडी गाविसमा एसियाली विकास बैंकको सहयोगमा केन्द्रले देशकै पहिलो १२ किलोवाट क्षमताको वायु तथा सौर्यउर्जा परियोजना निर्माण गरेको थियो ।

यस परियोजनाको सफलताको आधारमा देशका अन्य सम्भाव्य स्थानमा सौर्य÷वायु मिश्रित प्रणाली निर्माण गर्न सकिने र तत्कालै अछाम, सुर्खेत, सिन्धुलीमा स्थापना गर्न कार्य थालनी भइसकेको केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल बताउँछन् ।

गाउँ नजिकै प्राधिकरणको केन्द्रीय लाइनसमेत पुगेको र सो स्थानमा हावाको उच्च चाप रहेकाले थप विद्युत् उत्पादन गरी वरपरका गाउँमा पनि वितरण गर्ने र बढी भएको केन्द्रीय लाइनमा जोड्न सकिने सम्भावना रहेको उनको कथन छ ।

केन्द्रीय प्रसारणको लाइन गाउँनजिकै आएपनि विद्युत्को उपयोगबाट बन्चित रहेका भोर्लेनीबासी आफूलाई प्रकृतिले मात्र होइन, राज्यले पनि ठगेको अनुभव गर्दथे ।

गाउँमा सक्नेले साना क्षमताका सोलार राखेर घर उज्यालो बनाएपनि अधिकांशको गुजारा टुकी बालेर नै हुँदै आएको थियो । रातको समयमा प्रशस्त हावा चल्ने भएकाले टुकीबाट गाउँमा बर्सेनि आगलागीका घटना हुने गरेको स्थानीयबासी गोरखबहादुर केसी बताउँछन् ।

गाउँमा बिजुली आएपछि राति अबेरसम्म घरधन्दा गर्न सजिलो भएको अनुभव सुनाउँदै स्थानीय धनकुमारी तिमिल्सिना भन्छिन्–‘अहिले बिजुली आएपछि त स्वर्गै पुगेजस्तो भएको छ । घरमा टेलिभिजन हेरेर देश विदेशको समाचार देख्न पाइएको छ ।’

मोबाइल चार्ज गर्न पहिले पल्लो गाउँमा जानुपर्ने समस्या पनि टरेको बताउँदै उनी ‘कन्चनपुरमा रहेका छोराबुहारीसँग मोबाइलबाट कुरा गर्न पाउँदा धेरै खुसी लागेको छ’–भन्छिन् ।

समुदायले नै अपनत्व गरी परियोजनाको दिगो सन्चालनका लागि गाउँलेले मासिक रु ५०० महसुल निर्धारण गरेको सो परियोजनाका अध्यक्ष पद्मबहादुर घलानले जानकारी दिए । उनले छिटै सौर्य प्रणालीबाट पनि उत्पादित विद्युत्लाई गाउँका अन्य घरधुरीमा पनि विस्तार गरी देशकै नमुना गाउँको रुपमा विकास गर्न लागिएको बताए ।

गाउँलेहरुले यसपटकको तिहारमा देउसी–भैलो खेलेर संकलन गरेको करिब डेढ लाख रुपैयाँबाट विद्युत्गृह निर्माण थालेका छन् । टर्वाइन, विद्युत्गृह र सौर्य प्रणाली राख्न करिब पाँच कट्ठा जमिन पनि अध्यक्ष घलानले निःशुल्क उपलब्ध गराएका छन् । रासस - 

फेरि८ दशमलव २ रेक्टरस्केलको भूकम्प आउनसक्ने चेतावनी

फेरि८ दशमलव २ रेक्टरस्केलको भूकम्प आउनसक्ने चेतावनी

नयाँ दिल्ली–केन्द्रीय गृहमन्त्रालयका विशेषज्ञको टोलीले छिट्टै भारतमा विनाशकारी भूकम्प आउने चेतावनी दिएका छन्। विषेशज्ञले भारतमा ८ दशमलव २ रेक्टरस्केलको भूकम्प आउनसक्ने चेतावनी दिएको भारतीय संचारमाध्यमले जनाएका छन्।

सोमबार मनिपुरमा आएको भूकम्पभन्दा धेरै शक्तिशाली भूकम्प आउन सक्ने गृहका विषेशज्ञहरूको पूर्वानुमान उदृत गर्दै संचारमाध्यमले उल्लेख गरेका छन्। मनिपुरमा आएका ६ दशमलव ७, नेपालमा ७ दशमलव ८ र सिक्किमा २०११ ६ दशमलव ९ रेक्टरस्केलको भूकम्पका भूगर्भीय प्लेपमा उथल पुथल भएको भन्दै विज्ञहरूले ठूलो भूकम्पको जोखिमका आधारहरू पेश गरेका छन्।

भूकम्पको पहिलो धक्काबाट हिमालय क्षेत्रमा दरार पैदा भएको र मनिपुरमा आएको भूकम्पका कारण स्थिति झन गम्भीर रहेको विषेशज्ञले जनाएका छन्।

नेपालमा गएको भूकम्पपछि गरिएको विष्लेशणमा राष्ट्रिय विपद् प्रबन्धन संस्थानले चेतावनी जारी गर्दै पूर्वोत्तर क्षेत्र, विषेशगरी पहाडी इलाकामा शक्तिशाली भूकम्पको खतरा रहेको जनाएको थियो। भारतका ११ पहाडी राज्यहरूको नीति निर्माताको बैठकले पहाडी क्षेत्रमा आउने संकटसँग जुध्न योजना बनाएर अगाडि बढ्ने निर्णय गरेको थियो। संस्थानका निर्देशक सन्तोष कुमारले नेपाल, भुटान, म्यान्मार, र भारतको भूगर्भीय प्लेट एक आपसमा जोडिएको र यस क्षेत्रमा शक्तिशाली भूकम्प आउन सक्ने बताए। उनले भूकम्पको खतरा भारतको पहाडी राज्य तथा विहार, उत्तर प्रदेश र राजधानी दिल्लसम्म रहेको बताए। दिल्लीमा भूकम्पीय इलाकाको वर्गीकरण अनुसार निकै संवेदनशील मानिने ४ वर्गकिलोमिटर पर्छ।

ध्यान दिन पर्‍यो-------

ध्यान दिन पर्‍यो-------
ऐसेलुखर्क को स्पेलिङ ainselukharka हैन aiselukharka नै हुन्छ, कारण हरु
 ऐसेलुखर्क लेख्दा चन्द्र बिन्दु लाग्दैन , न्, ङ्, ण पनि उचारन हुँदैन साइलेन्ट पनि छैन ।
तेसैले सधै AISELUKHARKA नै लेख्ने गरौ । 

ऐसेलुखर्कमा सडक खन्ने क्रममा रुख ढलेर तिनजना घाईते

ऐसेलुखर्क पौष २२–
ऐसेलुखर्कमा सडक खन्नेक्रममा ढलेको रुखले किचेर तीन जना घाईते बनेका छन् । हुर्लुङदेखि ऐसेलुखर्क जोड्ने सडक स्तरोन्ततीकाक्रममा बुधबार ढलेको रुखले किच्दा ऐसेलुखर्क–४ की ५० वर्षीय गौमायाँ राई, १८ वर्षीय रबिन राई र १६ वर्षीय सुस्मिता राई घाईते भएका हुन् । नेपाल सरकार र स्वीस सरकारको संयुक्त लगानीमा सञ्चालित स्थानीय सडक सुधार कार्यक्रम अन्तरगत ४० किलोमिटर लामो हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक स्तरोन्तती गर्नेक्रममा जग काटिएर ढलेको रुखले किच्दा उनीहरु घाईते बनेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक बिद्यानन्द माझीले जानकारी दिए । रुखले किच्दा गौमायाँको काँधमा पेलेको, सुस्मीताको देब्रे घुँडामा गहिरो चोट लागेको र रबिन राईको घुँडामा चोट लागेको छ । उनीहरुको प्राथमिक स्वास्थ्य चौकी ऐसेलुर्खकमा उपचार भइरहेको छ ।

Diktel Bazar by Debesh Rai