Sunday, April 27, 2014

news

बैशाख–१४, जिल्ला अस्पताल खोटाङका महिला अहेवमाथि खुकुरी प्रहार गर्ने युवा कारागार चलान भएका छन् । गत चैत्र–१६ गते अहेव कबिता दाहाललाई जिल्ला अस्पतालको आकस्मिक कार्यकक्षमा खुकुरी प्रहार गर्ने खाल्ले–८ का २२ वर्षीय अशोक केसीलाई पुर्पक्षकालागि कारागार चलान गरिएको हो ।

जिल्ला अदालत खोटाङको आदेशमा केसीलाई पुर्पक्षका लागि जिल्ला कारागार शाखा दिक्तेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोबिन्द साहले बताउनुभयो । अस्पतालको आकस्मिक कक्षमा काम गरिरहेको अवस्थामा अहेव दाहालमाथि खुकुरी प्रहार गर्ने केसी बिरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ ।

दाहाललाई खुकुरी प्रहार गरेपछि भाग्दै गरेको अवस्थामा केसीलाई प्रहरीले पक्राउ गरेको थियो । खुकुरी प्रहारबाट टाउको, घाँटी र देब्रे हातमा गहिरो चोट लागेका दिक्तेल–९ सोल्माकी १९ वर्षीय अहेव दाहालको शिक्षण अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।
बेहोस अवस्थामा फिस्टेल एयरको हेलीकोप्टर मार्फत काठमाडौं पु¥याइएको दाहालको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको आफन्तको भनाई छ । दाहाल ९ महिना अघिदेखि अस्थायी करार सेवामा अस्पतालमा काम गर्दै आएकी थिइन् ।

वर्ष दिन अघिदेखिको प्रेम सम्वन्धलाई दाहालले अस्वीकार गरेको आबेशमा केसीले खुकुरी प्रहार गरेको खुलेको प्रहरीले बताएको छ । विवाहका लागि गरिएको प्रस्तावलाई अस्वीकार गरेका कारण दाहालमाथि आक्रमण गरिएको अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक साहले बताउनुभयो । प्रहरीका अनुसार केसीले प्रेमीकाको हत्या गरेर आफै आत्महत्या गर्ने मनसायले खुकुरी प्रहार गरेको बयान दिएको छ ।

Friday, April 25, 2014

News

बैशाख–१, खोटाङमा एक महिलाले जेलबाटै श्रीमान विरुद्ध कारबाहीको माग गर्दै उजुरी दिएकी छन् । कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि जिल्ला कारागार शाखा दिक्तेलमा राखिएकी मौवाबोटे–६ की २६ वर्षिय प्रमिला राईले बहुविवाह गर्ने श्रीमान भूमीराज राई विरुद्ध उजुरी दिनुभएकी हुन् । 

ज्यान मुद्दामा कारागार चलान भएपछि बिदेशबाट फर्किएका श्रीमानले फागुन–१४ गते साउनेचौंर–१ की रमिला खत्रीसँग दोश्रो विवाह गरेको भन्दै प्रमिलाले जेलबाटै उजुरी दिएकी प्रहरीले जनाएको छ । आफु जेल चलान भएपनि घर व्यवहार सम्हाल्न र बालबच्चाको हेरचाह गर्नुको सट्टा श्रीमानले बिदेशबाट फर्किएलगत्तै दोश्रो विवाह गरेर अन्याय गरेको प्रमिलाले दिएको उजुरीमा उल्लेख छ । 

सामाजिक परम्परा अनुसार २०६३ सालमा विवाह गरेका प्रमिला र भूमीराजको एक छोरी र एक छोरा छन् । श्रीमान बिदेशमा रहेकै समयमा प्रमिला कारागार चलान भएकी हुन् । 

गत माघ–१ गते आफैमाथि बलात्कार गर्न खोजेको आरोपमा कुटपिट भएका जेठाजु दिलकुमार राईको मृत्यु भएपछि प्रमिला पक्राउ परेकी थिइन् । उनलाई जिल्ला अदालत खोटाङले माघ–२८ गते पुर्पक्षका लागि थुनामा राख्न आदेस दिएको थियो । 

Wednesday, April 23, 2014

news

चैत–३०, भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधिले निर्माणकाक्रममा भाँचिएको ओखलढुंगा र उदयपुरको घुर्मीस्थित सुनकोसी नदीको पक्की पुल निर्माणको कामलाई तत्काल सुचारु गर्न निर्देशन दिएका छन् । निर्माणकाक्रममा भँँचिएको पुलको विषयमा स्थलगत अध्ययनका लागि शुक्रबार हर्कपुर पुगेको भौतिक योजना तथा निर्माण मन्त्री निधिले पुल भत्किएको बाहनामा कामलाई नरोक्न पुल निर्माणमा संलग्न ठेकेदार, इन्जिनियर तथा प्राविधिकलाई निर्देशन दिएका हुन् । 

निर्माणाधिन अवस्थामा भत्किएको पुलको विषयमा अध्ययनका लागि मन्त्री निधि ओखलढुङ्गाका सभाषद रामहरि खतिवडा, सोलुखुम्बुका सभाषद बलबहादुर केसी, सिन्धुलीका सभासद मोहन बराल, दिप्सीखा ढकालसहित सुनकोसी पुगेका थिए । पुल भत्किनुको कारण पत्ता लगाउँदै दोषीलाई कारबाही र पुल निर्माणको अवरुद्ध कामलाई निरन्तरताको पहलकालागि टोली पुल निर्माणस्थल आएको जनाइएको छ । 

सुनकोसीमा पाटन इन्जिनियरिङ क्याम्पसका प्राध्यपक इन्जिनियर सम्मिलित अर्को स्वतन्त्र छानबिन समिति समेत गठन गरेर पुल भत्किएको विषयमा छानबिन गर्ने सहमती गरिएको सभाषद खतिवडाले बताउनुभयो । उहाँका अनुशार जुनसुकै पक्षबाट पनि प्रभावित हुन नसक्ने समिति बनाउने तयारी गरिएको हो । 

निर्माणाधीन सुनकोसीको पुल गत सोमबार राती भत्किएको थियो । हुलास स्टिलले ट्रस जडान गरिरहेको अवस्थामा भत्किएको पुल भत्किनुको स्पष्ट कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन । 

ओखलढुंगाका सभाषद यज्ञराज सुनुवारले भने कमिसनखोरको चलखेलका कारण पुल निर्माणमा ढिलाई भएको र निर्माणाधिन अवस्थामा भत्किएको दाबी गर्नुभयो । सभाषद सुनुवारले स्वयं पुलको ठेकेदार कृष्ण लामा कांग्रेसका महासमिति सदस्य भएका कारण पुल निर्माणमा ढिलाइ भएपनि उनीमाथि कारबाही नभएको बताउनुभयो । 

सुनुवारले पुल भाँचिएको विषयमा गत मंगलबार संसद बैठकमा सरकारको ध्यानाकर्षण गराएको बताउनुभयो । सभाषद खतिवडाले पुल माथिल्लो सगरमाथाका तीन वटा जिल्लाको सरोकारको विषय भएकाले मन्त्रीलाई निरिक्षणकालागि आग्रह गरिएको बताउनुभयो । 

वाइवा भैरब कन्ट्रक्सनका ठेकेदार कृष्ण लामाले १४ करोडमा ठेक्का लिएको पुल समयमा निर्माण नहुँदाको अशर ओखलढुंगा, सोलुखुम्बु र खोटाङको भौतिक, आर्थिक र सामाजिक बिकासमा समेत परिरहेको छ । वाइवा भैरब कन्ट्रक्सनले ५ वर्षभित्र पूरा गर्नेगरी २०५८ सालमा जिम्मा लिएको पुल निर्माणको काम १४ वर्ष लाग्दा समेत पूरा हुनसकेको छैन । 

गत मङ्सिरमा पनि सुनकोसीमै निर्माणाधिन अस्थायी बेलिब्रिज निमार्णकै चरणमा भाँचिएको थियो । सुनकोसीको भत्किएको पुलको विषयमा अध्ययनकालागि हर्कपुर आएका निधिको टोलीले खोटाङ र ओखलढुंगाको सिमामा पर्ने दुधकोसीस्थित जयरामघाटमा निर्माणाधिन पुल समेत अवलोकन गरेका छन् । 

news

एमाओवादी खोटाङको अध्यक्षमा ‘पासाङ’
बैशाख–९, एकीकृत नेकपा माओवादी खोटाङको अध्यक्षमा रामकुमार राई ‘पासाङ’ चयन हुनुभएको छ । एमाओवादी जिल्ला कमिटिको सोमबार साँझ सम्पन्न दोश्रो सम्मेलनबाट पुर्वसभाषद रहेका ‘पासाङ’ अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । 

५१ सदस्यीय जिल्ला कमिटिको उपाध्यक्षमा समिता कार्की ‘अस्मिता’, सचिवमा देवान किराती ‘पृथ्बी’, सह–सचिवमा दुर्गाजयन्ती राई र कोषाध्यक्षमा सुरेश राई सर्वसम्मत चयन हुनुभएको छ । नवनिर्वाचित उपापध्यक्ष ‘अस्मिता’ र सह–सचिव दुर्गाजयन्ती पुर्वसभाषद हुनुहुन्छ । ९ सदस्यहरु पछि मनोनयन गर्नेगरी जिल्ला कमिटि गठन गरिएको एमाओवादीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

एमाओवादीका केन्द्रीय सदस्य हेमन्तप्रकाश ओलीको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनले साहित्यकार जसराज किराती, पत्रकार भोगीराज चामलीङ, डा. धनप्रसाद सुबेदी, डक्टर किरात, नरेन्द्र राई, हेमबिक्रम राई, पुष्पशंकर विश्वकर्मा, जयप्रसाद आचार्य, दिपबहादुर थापा लगायत २५ सदस्यीय सल्लाहकार समिति एवं आगामी बैसाख १८ गते बिराटनगरमा हुने पार्टीको राष्ट्रिय सम्मेलनमा जानका लागि ९ जना प्रतिनिधिहरु समेत छनौट गरेको छ । दिक्तेलको समिक्षालयहलमा तीन दिनसम्म चलेको सम्मेलनले राष्ट्रिय सम्मेलनमा जानकालागि पासाङ, अस्मिता, दुर्गाजयन्ती, जसराज किराती, राज तामाङ, मणि राई, प्रकाश चौंलागाई, अर्जुन खड्का र कर्ण विश्वकर्मालाई प्रतिनिधिकारुपमा चयन गरेको जनाएको छ ।

सम्मेलनले पहिचान सहितको संघियता र संघीयता सहितको संविधान निर्माणका लागि जिल्लामा अभिभावकीय भूमिका निभाउने निर्णय गरेको पत्रकार सम्मेलनमा नवनिर्वाचित अध्यक्ष पासाङले जानकारी दिनुभयो । उहाँले यसका लागि पार्टीले नेता, कार्यकर्ता र जनतालाई थप क्रान्तीकारी बनाउने बताउनुभयो ।

ऐसेलुखर्क को लक्ष्मी दर्शन बचत तथा ऋण सहकारी सस्था लि. ले   ई एम ई  र प्रभु रेमिट  संचालन